• बुधबार ६-२१-२०८३/Wednesday 10-07-2026

कांग्रेस केन्द्रीय सदस्यमा शारदा नगरप्रमुख भण्डारीको उम्मेदवारी

सल्यान शारदा नगरपालिकाका नगर प्रमुख प्रकाश भण्डारीले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ। उहाँले कर्णाली प्रदेश (भूगोल) तर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिनुभएको हो।

भण्डारीले पार्टी रूपान्तरणसँगै कर्णालीको आर्थिक तथा सामाजिक विकासलाई आफ्नो उम्मेदवारीको मुख्य आधार बनाउनुभएको छ। उहाँले ‘समृद्ध कांग्रेस, समृद्ध कर्णाली’ भन्ने नारासहित पार्टी संगठन सुदृढीकरण, रूपान्तरण र कर्णालीका विकासका मुद्दालाई प्राथमिकतामा राख्ने बताउनुभएको छ।

उम्मेदवारी घोषणा गर्दै भण्डारीले कांग्रेसलाई समयानुकूल रूपान्तरण गर्दै संगठनलाई थप बलियो र जनमुखी बनाउन आवश्यक रहेको बताउनुभयो। उहाँले कर्णालीका आर्थिक, सामाजिक र विकासका सवाललाई पार्टीको केन्द्रीय नेतृत्वमा प्रभावकारी रूपमा उठाउन आफ्नो उम्मेदवारी रहेको उल्लेख गर्नुभयो।

उहाँले महाधिवेशन प्रतिनिधिहरूसँग आफूलाई मतदान गरी विजयी गराउन अपिलसमेत गर्नुभएको छ।

कांग्रेसको १५औँ महाधिवेशन आइतबारदेखि काठमाडौंको खुलामञ्चमा जारी छ। महाधिवेशनमा कर्णाली प्रदेश (भूगोल) तर्फबाट केन्द्रीय सदस्यका लागि भण्डारीसहित विभिन्न नेताहरूले उम्मेदवारी प्रस्तुत गरेका छन्।

भण्डारी २०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट शारदा नगरपालिकाको नगर प्रमुखमा निर्वाचित हुनुभएको थियो। स्थानीय सरकारको नेतृत्वसँगै उहाँ कांग्रेसको संगठन निर्माण र विस्तारमा समेत सक्रिय रहँदै आउनुभएको छ।

२०४४ वैशाख ९ गते सल्यानको साविक बरला गाविसमा जन्मनुभएका भण्डारीको राजनीतिक यात्रा नेपाल विद्यार्थी संघबाट सुरु भएको हो। २०६० सालमा नेविसंघ सल्यानको जिल्ला सदस्य बनेसँगै उहाँको विद्यार्थी राजनीति सुरु भएको थियो।

२०६३ सालमा सिआइटी कलेजको इकाइ सभापतिको जिम्मेवारी सम्हाल्नुभएका भण्डारी २०६५ सालमा प्राविधिक विद्यार्थी परिषद्को केन्द्रीय सचिव बन्नुभएको थियो। त्यसपछि गृहजिल्लामा फर्किएर नेविसंघ सल्यानको जिल्ला सदस्य, सहसचिव, सचिव हुँदै जिल्ला उपाध्यक्षको जिम्मेवारी सम्हाल्नुभयो।

कांग्रेसको १२औँ महाधिवेशनमा २०६७ सालमा क्षेत्रीय प्रतिनिधि बन्नुभएका भण्डारी २०६९ सालमा नेविसंघ सल्यानको जिल्ला अध्यक्ष बन्नुभएको थियो। विद्यार्थी संगठनको नेतृत्वपछि उहाँ पार्टीको मूल राजनीतिमा सक्रिय हुनुभएको हो।

२०७२ सालको कांग्रेसको १३औँ महाधिवेशनमा उहाँ जिल्लाबाट सदस्यमा निर्वाचित हुनुभएको थियो। २०७५ सालमा जिल्ला सदस्यहरूको प्रस्तावमा सचिवको जिम्मेवारी पाउनुभएका भण्डारी २०७८ सालको १४औँ महाधिवेशनमा जिल्लाकै उत्कृष्ट मतसहित दोस्रो कार्यकालका लागि सचिवमा निर्वाचित हुनुभएको थियो।

लामो समय पार्टी संगठनमा सक्रिय रहनुभएका भण्डारी २०७९ सालको स्थानीय तह निर्वाचनमा शारदा नगरपालिकाको नगर प्रमुखमा निर्वाचित भएपछि स्थानीय सरकारको नेतृत्वमा पुग्नुभएको हो। उहाँले अहिले पार्टीको केन्द्रीय नेतृत्वमा रहेर कर्णालीका विकास र कांग्रेसको संगठनात्मक रूपान्तरणका मुद्दालाई अघि बढाउने लक्ष्यसहित उम्मेदवारी प्रस्तुत गर्नुभएको छ।

प्रतिकृया दिनुहोस

एमाले र मसालसँग सहकार्य गर्ने समझदारी भएको प्रचण्डको भनाइ

नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमाले र राष्ट्रिय जनमोर्चा (मसाल)सँग सहकार्य गरेर अघि बढ्ने समझदारी भएको बताउनुभएको छ। नेकपा

रास्वपाको ‘हामी आउँदै छौँ’ अभियानमा सल्यानमा सापकोटा र पन्त

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सञ्चालन गर्न लागेको ‘हामी आउँदै छौँ’ अभियानअन्तर्गत सल्यानमा रमेशकुमार सापकोटा र बुद्धिप्रसाद पन्तलाई

सरकारको कार्यशैलीले जनआक्रोश बढाएको महाराज गुरुङको दाबी

राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय अध्यक्ष महाराज गुरुङले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको कार्यशैलीप्रति आलोचना गर्दै सरकारका

↑