• आइतबार ७-२-२०८३/Sunday 10-18-2026

निर्माणाधीन राप्ती राजमार्गमा दसैँ यात्रा जोखिमपूर्ण

दसैँ मनाउन घर फर्किनेको चाप बढेसँगै निर्माणाधीन राप्ती राजमार्गमा यात्रा जोखिमपूर्ण बनेको छ । सडक स्तरोन्नतिका क्रममा भइरहेको कटिङ, धुलो, हिलो, ढुङ्गा खस्ने र पहिरोको जोखिमले यात्रु तथा सवारी चालकले सास्ती खेप्नुपरेको छ । सडक साँघुरिएका स्थानमा सवारीसाधनले पालो कुर्नुपर्ने हुँदा यात्रा अवधि लम्बिने गरेको छ ।

सल्यान, रुकुम र रोल्पालाई दाङसँग जोड्ने राप्ती राजमार्ग यस क्षेत्रको प्रमुख यातायात सञ्जाल हो । रोजगारी, अध्ययन तथा विभिन्न कामका लागि घरबाहिर रहेका नागरिक दसैँ मनाउन गाउँ फर्किने क्रम बढेसँगै राजमार्गमा सवारीसाधनको चाप पनि बढेको छ । चाडपर्वमा सहज र सुरक्षित यात्राको अपेक्षा गरेका यात्रु निर्माणाधीन सडकका कारण बाटोमै रोकिनुपर्ने र गन्तव्यमा पुग्न बढी समय खर्चिनुपर्ने बाध्यतामा छन् ।

राप्ती राजमार्गअन्तर्गत दाङको हरनेटी–राम्री तथा सल्यानको चोरखोला–कपुरकोट र सम्धीमोड–खारखोलालगायतका खण्डमा सडक फराकिलो बनाउने काम भइरहेको छ । सडक कटिङका क्रममा कतिपय स्थान साँघुरिएका छन् भने माथिबाट ढुङ्गा खस्ने र सुक्खा पहिरो जाने जोखिमसमेत छ । वर्षा हुँदा हिलो र अन्य समयमा धुलोका कारण सवारी आवागमन प्रभावित हुने गरेको छ ।

राजमार्गमा यात्रा गरिरहेका चालक विष्णु योगीले निर्माणाधीन सडकका कारण सवारी चलाउन जोखिम बढेको बताउनुभयो । उहाँका अनुसार कतिपय ठाउँमा लामो समयसम्म सवारीसाधन रोकेर पालो पर्खिनुपर्ने अवस्था छ ।

“बाटोमा धेरै जोखिम छ । धुलो र हिलोले समस्या बनाइरहेको छ । कतिबेला सुक्खा पहिरो आउँछ भन्ने ठेगान हुँदैन । धेरै बेर रोकिनुपर्ने अवस्था छ,” उहाँले भन्नुभयो, “काम छिटोछरितो र व्यवस्थित रूपमा गरिदिए यात्रु र चालक सबैलाई सजिलो हुन्थ्यो ।”

यात्रु शिशिर खड्काले पनि सडक विस्तारको काम भइरहेका स्थानमा आवागमन कठिन भएको बताउनुभयो । सडक स्तरोन्नति आवश्यक भए पनि निर्माणस्थलमा सवारीसाधन र पैदलयात्रुको सुरक्षित आवागमनको व्यवस्था मिलाउनुपर्ने उहाँको भनाइ छ ।

“डबल कटिङ भएका ठाउँमा गाडी चलाउन र हिँडडुल गर्नसमेत कठिन छ । स्तरोन्नतिको काम भइरहेका स्थानमै बढी जोखिम देखिन्छ,” उहाँले भन्नुभयो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय सल्यानका अनुसार राप्ती राजमार्गमा दैनिक साना–ठूला गरी करिब ३५० सवारीसाधन आवतजावत गर्छन् । दसैँमा सवारीसाधनको चाप बढ्ने भएकाले जाम नियन्त्रण, आवागमन व्यवस्थापन र दुर्घटनाको जोखिम न्यूनीकरण चुनौतीपूर्ण बनेको छ ।

ट्राफिक प्रहरी जयमान घर्तीले चाडपर्वका बेला यात्रुको चाप बढ्ने भएकाले चालकलाई सचेत गराउने, जोखिमयुक्त स्थानमा निगरानी बढाउने र सवारी आवागमन व्यवस्थित गर्ने काममा ध्यान दिइएको बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालय सल्यानले पनि निर्माणाधीन सडकको अवस्था र सम्भावित जोखिमबारे अनुगमन गरी आवश्यक व्यवस्थापनका लागि सम्बन्धित निकायसँग समन्वय गरिरहेको जनाएको छ । प्रमुख जिल्ला अधिकारी बन्धना कुमारी केसीका अनुसार सडकमा खसेका ढुङ्गा तथा पहिरो हटाउने, सवारी आवागमन सहज बनाउने र आवश्यक उपकरण तयारी अवस्थामा राख्ने विषयमा सम्बन्धित निकायसँग समन्वय गरिएको छ ।

उहाँका अनुसार जोखिमयुक्त स्थानको व्यवस्थापनका लागि सडक डिभिजन कार्यालय र सम्बन्धित स्थानीय तहसँग समन्वय भइरहेको छ । सम्भावित अवरोध हटाउन आवश्यक पर्ने जेसीबी तथा स्काभेटरसमेत तयारी अवस्थामा राखिएको उहाँले बताउनुभयो ।

पाँच खण्डमा स्तरोन्नति

राप्ती राजमार्गअन्तर्गत पाँच खण्डमा सडक स्तरोन्नतिको काम भइरहेको छ । तीनवटा ठेक्कामार्फत अघि बढाइएको काममध्ये पुराना दुई प्याकेजअन्तर्गत राम्री–कपुरकोट र सल्यान–रुकुमको खौला क्षेत्रमा कालोपत्रे गर्ने काम भइरहेको छ ।

आर्थिक वर्ष २०८०/८१ मा सम्झौता भएका ती ठेक्का २०८२ सालभित्र सम्पन्न गर्नुपर्ने भए पनि विभिन्न कारणले ढिलाइ भएको थियो । म्याद थप गरिएका यी काम चालु आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

त्यस्तै, दाङको हरनेटी–राम्री तथा सल्यानको चोरखोला–कपुरकोट र सम्धीमोड–खारखोलालगायतका तीन खण्डमा सडक फराकिलो बनाउने काम भइरहेको छ । यी खण्डमा २०८२ जेठ ४ गते ठेक्का सम्झौता भएको थियो । निर्माणको काम २०८४ जेठसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

सडक डिभिजन कार्यालय दाङका अनुसार पुराना ठेक्काअन्तर्गत करिब ९० प्रतिशत र नयाँ ठेक्काअन्तर्गत ५५ प्रतिशत काम सम्पन्न भएको छ ।

सडक डिभिजन कार्यालय दाङका प्रमुख दीपेन्द्र विष्टले चाडपर्वलाई ध्यानमा राखेर जोखिमयुक्त स्थानमा कटिङको काम रोक्न तथा सडकमा देखिएका सानातिना पहिरो र ढुङ्गा हटाउन निर्माण व्यवसायीलाई निर्देशन दिइएको बताउनुभयो । चाडपर्वका बेला सवारी आवागमन प्रभावित नहोस् भन्ने उद्देश्यले निर्माणस्थलको अवस्था हेरेर आवश्यक व्यवस्थापन गर्नसमेत भनिएको उहाँले जानकारी दिनुभयो ।

सडक स्तरोन्नतिको काम पूरा भएपछि राप्ती राजमार्गमा यात्रा सहज र सुरक्षित हुने अपेक्षा गरिएको छ । तर, निर्माण सम्पन्न नहुँदै दसैँमा बढेको सवारी चाप व्यवस्थापन गर्नु अहिलेको मुख्य चुनौती बनेको छ । निर्माणस्थलमा सुरक्षित आवागमनको व्यवस्था मिलाउने, पहिरोको जोखिम न्यूनीकरण गर्ने र सडकमा खसेका ढुङ्गा हटाउने कामलाई सम्बन्धित निकायले प्राथमिकता दिनुपर्ने देखिन्छ ।

प्रतिकृया दिनुहोस

दार्मामा सामाजिक सुरक्षासम्बन्धी त्रिपक्षीय सम्झौता

सल्यानको दार्मा गाउँपालिकामा श्रमिक तथा योगदानकर्तालाई सामाजिक सुरक्षाको दायरामा समेट्ने उद्देश्यले त्रिपक्षीय सम्झौता भएको छ ।श्रमिक, स्वरोजगार

जनताका सवाल संसद्मा उठाउँछौँ : सापकोटा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सल्यानले ‘हामी आउँदै छौँ’ अभियानअन्तर्गत सिद्धकुमाख गाउँपालिकामा अगुवा कार्यकर्तासँग छलफल गरेको छ ।छलफलमा

पहिरोले सल्यान–खलङ्गा–बालुवा–सङ्ग्रही सडक अवरुद्ध

लगातारको वर्षापछि विभिन्न स्थानमा पहिरो खस्दा सल्यानको खलङ्गा–बालुवा–सङ्ग्रही सडक अवरुद्ध भएको छ। सडक अवरुद्ध हुँदा यात्रु अलपत्र परेका छन् भने

↑