सल्यानमा स्क्रब टाइफसबाट ३५५ जना संक्रमित
सल्यानमा स्क्रब टाइफसको संक्रमण छ वटा स्थानीय तहमा फैलिएको छ। जिल्लाभर सरकारी तथा निजी स्वास्थ्य संस्थामा गरिएको परीक्षणबाट हालसम्म ३५५ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमणकै जटिलताका कारण दार्मा गाउँपालिकामा आठ जनाको मृत्यु भएको छ।
स्वास्थ्य सेवा कार्यालय सल्यानका अनुसार सरकारी स्वास्थ्य संस्थामा एक हजार ७०९ जनाको स्क्रब टाइफस परीक्षण गर्दा २६९ जनामा संक्रमण पुष्टि भएको छ। सरकारी स्वास्थ्य संस्थामा परीक्षण गरिएकामध्ये संक्रमण दर १५.७४ प्रतिशत रहेको जनस्वास्थ्य अधिकृत तारा रिजालले जानकारी दिनुभयो।
निजी स्वास्थ्य संस्थातर्फ बागचौर नगरपालिकाको मात्रै तथ्याङ्क संकलन भएको छ। बागचौरका निजी स्वास्थ्य संस्थामा ३३१ जनाको परीक्षण गर्दा ८६ जनामा संक्रमण पुष्टि भएको छ। सरकारी र निजी क्षेत्रको तथ्याङ्क जोड्दा संक्रमितको सङ्ख्या ३५५ पुगेको हो।
संक्रमितमध्ये महिलाको सङ्ख्या बढी रहेको छ। कुल संक्रमितमध्ये २४४ जना अर्थात् ६८.७३ प्रतिशत महिला र १११ जना अर्थात् ३१.२७ प्रतिशत पुरुष रहेका छन्। स्वास्थ्यकर्मीका अनुसार घाँस, दाउरा, कृषि कार्य तथा पशुपालनमा महिलाको बढी संलग्नताका कारण संक्रमणको जोखिम बढी भएको हुनसक्ने अनुमान गरिएको छ।
जिल्लाका स्थानीय तहमध्ये दार्मा गाउँपालिका सबैभन्दा बढी प्रभावित बनेको छ। स्वास्थ्य सेवा कार्यालयका निमित्त व्यवस्थापक डा. प्रतिभा विकले प्रमाणित गरेको विवरणअनुसार दार्मामा ५३२ जनाको परीक्षण गर्दा ११६ जनामा संक्रमण पुष्टि भएको छ। जिल्लामा मृत्यु भएका आठै जनाको मृत्यु दार्मामै भएको हो। मृत्यु हुनेमा एक जना महिला र सात जना पुरुष रहेका छन्।
त्यस्तै बागचौर नगरपालिकामा सरकारी तथा निजी स्वास्थ्य संस्थाको तथ्याङ्कअनुसार १६४ जना, कुमाख गाउँपालिकामा २२ जना, बनगाड कुपिण्डे नगरपालिकामा सात जना र कालिमाटी गाउँपालिकामा दुई जनामा संक्रमण पुष्टि भएको छ। बनगाड कुपिण्डेमा परीक्षण गरिएका सातै जनामा संक्रमण देखिएको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ।
छत्रेश्वरी गाउँपालिकामा पनि स्थानीय स्वास्थ्य संस्थाले स्क्रब टाइफसका संक्रमित भेटिएको जानकारी दिएको छ। तर, त्यसको यकिन विवरण स्वास्थ्य सेवा कार्यालयमा प्राप्त नभएको जनाएको छ। कपुरकोट र त्रिवेणी गाउँपालिकासँग आवश्यक तथ्याङ्कका लागि सम्पर्क हुन नसकेको कार्यालयले जनाएको छ। सिद्धकुमाख र शारदा नगरपालिकामा भने हालसम्म संक्रमण नदेखिएको रिपोर्ट छ।
स्क्रब टाइफसको संक्रमण फैलिएको जानकारी पाएपछि स्वास्थ्य सेवा कार्यालयले सम्बन्धित स्थानीय तह, प्रदेश तथा सङ्घीय सरकारसँग समन्वय गरी प्रभावित क्षेत्रमा द्रुत प्रतिकार्य समूह परिचालन गरेको थियो। प्रभावित क्षेत्रमा परीक्षण, उपचार तथा जनचेतनामूलक गतिविधि सञ्चालन गरिएको कार्यालयले जनाएको छ।
बढाइयो ‘स्क्रब टाइफस’ को परीक्षण
सल्यानको दार्मा गाउँपालिकामा स्क्रब टाइफस संक्रमणबाट मृत्यु हुनेको संख्या आठ पुगेको छ । गाउँपालिकाका विभिन्न क्षेत्रमा गरिएको परीक्षणबाट
दार्मामा स्क्रब टाइफस संक्रमण बढेको भन्दै सांसद मल्लद्वारा सरकारको ध्यानाकर्षण
सल्यानको दार्मा गाउँपालिकामा स्क्रब टाइफसको संक्रमण बढ्दै गएको भन्दै प्रतिनिधिसभा सदस्य रमेश कुमार मल्लले सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
क्यान्सरबाट जोगाउन किशोरीलाई एचपीभी खोप
सल्यानमा दुई सयभन्दा बढी खोप केन्द्रबाट किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी ९ह्युमन प्यापिलोमा भाइरस० खोप लगाउन सुरु गरिएको छ। यस
प्रतिकृया दिनुहोस