• शुक्रबार ६-९-२०८३/Friday 09-25-2026

बढाइयो ‘स्क्रब टाइफस’ को परीक्षण

दार्मा गाउँपालिकामा स्क्रब टाइफसका सम्भावित बिरामीको स्वास्थ्य परीक्षण गर्दै स्वास्थ्यकर्मी ।

सल्यानको दार्मा गाउँपालिकामा स्क्रब टाइफस संक्रमणबाट मृत्यु हुनेको संख्या आठ पुगेको छ । गाउँपालिकाका विभिन्न क्षेत्रमा गरिएको परीक्षणबाट संक्रमितको संख्या १५१ पुगेको स्वास्थ्य शाखाले जनाएको छ ।

स्वास्थ्य शिविर तथा गाउँपालिकाभित्रका स्वास्थ्य संस्थामा गरी हालसम्म ७१२ जनाको परीक्षण गरिएकोमा १५१ जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको स्वास्थ्य शाखा प्रमुख यज्ञ बस्नेतले जानकारी दिनुभयो । संक्रमितमध्ये ३१ जना महिला र १२० जना पुरुष छन् ।

पछिल्लो पटक दार्मा गाउँपालिका–३, दुबाङका ६९ वर्षीय खली खत्रीको उपचारका क्रममा बुधबार नेपालगन्जमा मृत्यु भएको हो । असोज ३ गते स्क्रब टाइफस संक्रमण पुष्टि भएका खत्रीको स्वास्थ्य अवस्था जटिल भएपछि थप उपचारका लागि नेपालगन्ज लगिएको थियो ।

स्वास्थ्य शाखा प्रमुख बस्नेतका अनुसार पछिल्लो एक महिनामा संक्रमणबाट मृत्यु हुनेमा दार्मा–६ का ८२ वर्षीय बलबहादुर थापा, वडा नं. ५ का ६९ वर्षीय तुलबहादुर खड्का, वडा नं. ६ का ६७ वर्षीय नरबहादुर बुढाथोकी, वडा नं. १ का ५१ वर्षीय खिमानन्द केसी, वडा नं. २ का १२ वर्षीय नरेश ओली, वडा नं. १ का ६७ वर्षीय तोताराम सुनार, ६१ वर्षीय नरेन्द्र रोकाय र वडा नं. ३ का ६९ वर्षीय खली खत्री हुनुहुन्छ ।

संक्रमण बढ्दै गएपछि दार्मा गाउँपालिका र स्वास्थ्य सेवा कार्यालय सल्यानले प्रभावित क्षेत्रमा परीक्षण तथा उपचारलाई तीव्रता दिएका छन् । स्वास्थ्यकर्मी परिचालन गरी सम्भावित संक्रमितको पहिचान, परीक्षण र उपचारसँगै रोगबारे जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गरिएको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।

स्वास्थ्य सेवा कार्यालय सल्यानले प्रभावित क्षेत्रमा चिकित्सकसहितको शिविर सञ्चालन गरी बिरामीको स्वास्थ्य परीक्षण, उपचार, परामर्श तथा आवश्यक परे थप उपचारका लागि प्रेषण गरिरहेको छ । शिविरमा प्रयोगशालामार्फत स्क्रब टाइफस तथा डेङ्गु परीक्षणसमेत भइरहेको कार्यालयले जनाएको छ ।

जिल्ला अस्पताल सल्यानबाट चिकित्सकसहितको टोली आवश्यक औषधि र परीक्षण सामग्री लिएर दार्मा पुगेको छ । जिल्ला अस्पतालका चिकित्सक डा. बालाराम केसीको नेतृत्वमा पुगेको टोलीले स्थानीयको स्वास्थ्य परीक्षण तथा उपचार गरिरहेको छ ।

जनस्वास्थ्य अधिकृत ताराप्रसाद रिजालका अनुसार उपचारसँगै स्थानीयलाई संक्रमणबाट जोगिने उपायबारे जानकारी गराउने काम भइरहेको छ । “वर्षायाममा घाँसपात र झाडीमा काम गर्दा सावधानी अपनाउन र ज्वरो आएलगत्तै स्वास्थ्य संस्थामा परीक्षण गराउन आग्रह गरेका छौँ,” उहाँले भन्नुभयो ।

स्वास्थ्यकर्मीका अनुसार स्क्रब टाइफस हुँदा उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने र अत्यधिक कमजोरी हुनेजस्ता लक्षण देखिन सक्छन् । समयमै परीक्षण गरी उपचार गरेमा संक्रमण निको हुने भएकाले लक्षण देखिए स्वास्थ्य संस्थामा सम्पर्क गर्न स्वास्थ्यकर्मीले आग्रह गरेका छन् ।

यसैबीच सल्यानका कालीमाटी र कुमाख गाउँपालिका तथा बागचौर नगरपालिकाले पनि स्क्रब टाइफस परीक्षण किट माग गरेका छन् । ती पालिकाका स्वास्थ्य संस्थामा ज्वरो लगायतका लक्षण भएका बिरामी आउन थालेपछि सम्भावित संक्रमितको समयमै पहिचान र उपचारका लागि परीक्षण किट माग गरिएको सम्बन्धित पालिकाले जनाएका छन् ।
 

प्रतिकृया दिनुहोस

दार्मामा स्क्रब टाइफस संक्रमण बढेको भन्दै सांसद मल्लद्वारा सरकारको ध्यानाकर्षण

सल्यानको दार्मा गाउँपालिकामा स्क्रब टाइफसको संक्रमण बढ्दै गएको भन्दै प्रतिनिधिसभा सदस्य रमेश कुमार मल्लले सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

क्यान्सरबाट जोगाउन किशोरीलाई एचपीभी खोप

सल्यानमा दुई सयभन्दा बढी खोप केन्द्रबाट किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी ९ह्युमन प्यापिलोमा भाइरस० खोप लगाउन सुरु गरिएको छ। यस

बनगाड कुपिण्डे नगरपालिकाको वार्षिक समीक्षा तथा आगामी योजना तर्जुमा गोष्ठी सम्पन्न

सल्यान — बनगाड कुपिण्डे नगरपालिकामा आर्थिक, सामाजिक, सांस्कृतिक तथा देश विकासलाई प्राथमिकतामा राख्दै आर्थिक वर्ष २०८२/०८३ मा सम्पादित जनस्वास्थ्य

↑