• बुधबार ४-१३-२०८३/Wednesday 07-29-2026

अन्तर्राष्ट्रिय योग दिवस : ‘योग भन्नेभन्दा गर्ने कुरा हो’

अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा सल्यानमा आयोजित कार्यक्रममा वक्ताहरूले योगलाई स्वस्थ जीवनशैलीको आधारका रूपमा अपनाउनुपर्नेमा जोड दिएका छन्।
कार्यक्रममा बोल्दै सल्यानका प्रमुख जिल्ला अधिकारी महेन्द्रकुमार सापकोटाले योग केवल सुन्ने वा भन्ने विषय नभई व्यवहारमा उतार्नुपर्ने अभ्यास भएको बताउनुभयो। उहाँले योगले मन, शरीर र आत्माबीच सन्तुलन तथा एकता कायम गर्दै सकारात्मक सोच, अनुशासन र स्वस्थ जीवनशैलीको विकास गर्न सहयोग पु¥याउने उल्लेख गर्नुभयो।
“योग भन्नेभन्दा गर्ने कुरा हो। नियमित अभ्यासले शारीरिक स्वास्थ्यसँगै मानसिक शान्ति, आत्मविश्वास र कार्यक्षमतामा समेत वृद्धि हुन्छ,” उहाँले भन्नुभयो।
कार्यक्रममा प्रमुख आयुर्वेद स्वास्थ्य केन्द्र सल्यानकी प्रमुख सम्झना जिसीले आयुर्वेदले रोगको उपचार मात्र नभई स्वस्थ व्यक्तिको स्वास्थ्य संरक्षणलाई समेत प्राथमिकता दिने बताउनुभयो। उहाँले आयुर्वेदको मूल सिद्धान्त “स्वस्थस्य स्वास्थ्य रक्षणम्, आतुरस्य विकार प्रशमनम् च” रहेको उल्लेख गर्दै स्वस्थ व्यक्तिको स्वास्थ्य रक्षा गर्नु र बिरामी व्यक्तिको रोग तथा विकारको शमन गर्नु नै आयुर्वेदको मुख्य उद्देश्य भएको स्पष्ट पार्नुभयो।

उहाँका अनुसार स्वस्थ जीवनका लागि आयुर्वेदले दिनचर्या, रात्रिचर्या, ऋतुचर्या तथा आहार–विहारलाई विशेष महत्व दिएको छ। नियमित व्यायाम, योग, सन्तुलित आहार, पर्याप्त निद्रा र मौसमअनुकूल जीवनशैली अपनाउन सके धेरै रोगबाट बच्न सकिने उहाँको भनाइ थियो।

“योग र आयुर्वेद एकअर्काका परिपूरक हुन्। नियमित योगाभ्यास, अनुशासित दिनचर्या र सन्तुलित आहार–विहारले मानिसलाई शारीरिक तथा मानसिक रूपमा स्वस्थ राख्न मद्दत गर्छ,” प्रमुख जिसीले भन्नुभयो।
योग प्रशिक्षक गीता श्रीले स्वस्थ रहन तथा विभिन्न रोगको सुधारका लागि मन र शरीरलाई एकै ठाउँमा केन्द्रित गर्न योग प्रभावकारी माध्यम भएको बताउनुभयो। नियमित योगाभ्यासले तनाव व्यवस्थापन, मानसिक एकाग्रता र शारीरिक तन्दुरुस्तीमा सकारात्मक प्रभाव पार्ने उहाँको भनाइ थियो।
हरेक वर्ष जुन २१ मा मनाइने अन्तर्राष्ट्रिय योग दिवसले शारीरिक, मानसिक तथा आध्यात्मिक स्वास्थ्य प्रवद्र्धनमा योगको महत्वबारे जनचेतना फैलाउने उद्देश्य राखेको छ। संयुक्त राष्ट्रसंघले सन् २०१४ मा जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रूपमा घोषणा गरेपछि विश्वभर यसको महत्व बढ्दै गएको छ।
नेपालमा पनि विद्यालय, सरकारी कार्यालय, स्वास्थ्य संस्था तथा विभिन्न सामाजिक सङ्घसंस्थाले योग अभ्यास तथा सचेतनामूलक कार्यक्रम आयोजना गरी दिवस मनाउने गरेका छन्। आधुनिक जीवनशैलीका कारण बढ्दै गएको तनाव, चिन्ता तथा नसर्ने रोगहरूको जोखिम न्यूनीकरणका लागि योगलाई दैनिक जीवनको अभिन्न अभ्यासका रूपमा अपनाउनुपर्नेमा वक्ताहरूले जोड दिएका छन्।
 

प्रतिकृया दिनुहोस

काल्चे स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी पारस्परिक अवलोकन सम्पन्न

स्वास्थ्य सेवा कार्यालय सल्यानले स्वास्थ्य चौकीको न्यूनतम सेवा मापदण्ड (एचपी–एमएसएस) सम्बन्धी समीक्षा, अनुगमन, पारस्परिक अवलोकन तथा सुदृढीकरण

दार्मामा पूर्ण सरसफाइ उन्मुख टोल घोषणा

सल्यानको दार्मा गाउँपालिकाले पूर्ण सरसफाइ उन्मुख गाउँपालिका घोषणा गर्ने अभियानलाई तीव्रता दिएको छ। गाउँपालिकाको खानेपानी, सरसफाइ तथा स्वच्छता

दार्मा गाउँपालिकामा खानेपानी आयोजनाको तेस्रो सामाजिक परीक्षण सम्पन्न

सल्यान,  दार्मा गाउँपालिका–५ मा सञ्चालित ब्रहाखोला स्यालदुले पातीहाल्न साङ्ट खानेपानी, सरसफाइ तथा स्वच्छता आयोजनाको तेस्रो सामाजिक परीक्षण तथा