• शनिबार १-१५-२०८१/Saturday 04-27-2024

ओली सरकारले वर्ष दिनमा नगरेका काम

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको वर्ष दिन पुगेको अवसरमा बिहीबार राष्ट्रको नाममा सम्बोधन गर्नुभयो। सम्बोधनमा सरकारले वर्ष दिनमा गरेका कामको फेहरिस्त थियो। फेहरिस्त यति लामो थियो कि त्यो सक्न उहाँलाई झन्डै एक घन्टा लाग्यो।  

सम्बोधनको क्रममा एक ठाउँमा प्रधानमन्त्रीले भन्नुभयो-तपाईंहरूलाई नै विनम्र प्रश्न गर्ने अनुमति चाहन्छु। छातीमा हात राखेर आफैंलाई सोध्नुस्, पहिलेको तुलनामा तपाईंले चुन्नु भएको यो प्रधानमन्त्रीले सत्ता सम्हालेपछि तपाईंहरूको जीवन कष्टकर हुने नकाम के-के भए? 

तपाईंले भनेजस्तै छातीमा हात राखेर मैले तपाईंकै प्रश्नलाई सुल्टो पारेर सोधें- यो सरकार बनेपछि आमनागरिकले दिन्दिनै भोगिरहेका कष्ट हटाउन के-के काम भए त?

उत्तर यस्तो आयो।

) लाइसेन्स लिन ६ महिना, सार्वजनिक सवारीमा सास्ती उस्तै

तपाईंलाई थाहा होला नि प्रधानमन्त्रीज्यू अहिले हामीले सवारी चालकको लाइसेन्स बनाउन ६ महिना कुर्नुपर्छ। नयाँ बनाउनमात्र होइन पूरानो नवीकरण गर्न लाग्ने समय पनि त्यति नै हो।

विद्युतीय शासनको युगमा कर तिर्न पनि लामो लाइन पार गर्नुपर्छ।

प्रधानमन्त्रीको सवारी दैनिक सिंहदरबारबाट पुतलीसडकको बाटो हुँइकिन्छ। कहिल्यै याद गर्नु भएको छ, पुतलीसडकको चोकमा ट्राफिक लाइट नबलेको कति भयो? तपाईंलाई बालुवाटार र सिंहदरबारमा भेट्न जानेहरू कार्यक्षमा छिर्नुअघि कपडाको धुलो टक्टक्याउँछन्। जुत्ताको हिलो पुच्छन्।

तपाईंको कार्यकक्षमा उनीहरू सायद चिल्ला कुरा मात्र गर्छन् होला नत्र पानी पर्दा हिलाम्य र घाम लाग्दा धुलाम्य हुने सडकका कुरा तपाईंलाई सुनाएको भए त वर्षदिन पछि पनि काठमाडौंका सडकको हालत उस्तै कसरी हुन्थ्यो होला र!

सवारी साधनको सिन्डिकेट तोड्न भन्दै प्रहरीले नयाँ बसपार्कमा बस व्यवसायीले टाँगेका बोर्ड निकालेर मिल्काइदियो। अहिले त्यहाँ नयाँ बोर्ड झुन्ड्याइएका छन्। बोर्ड नयाँ भएर के गर्नु यात्रुको सास्ती पुरानै छ।  काठमाडौंमै  बिहान अफिस पुग्ने र साँझ निस्कने बेला बसमा, माइक्रोमा वा टेम्पोमा खुट्टा टेक्न मुस्किल छ।

) मलेसिया कामदार किन गएनन्?

सरकारले मलेसियासँग श्रम सम्झौता गर्‍यो। सरकारले श्रमिकको चिन्ता गरेको देखियो। सबैले सरकारको तारिफ गरे। सम्झौता भएको महिनौं बित्दा पनि मलेसिया नेपाली जान पाइरहेका छैनन्। 

मलेसियाको दूतावासले हरेक महिना कामदार पठाउने व्यवस्था गर्न  श्रम मन्त्रालयम पत्र पठाउँछ। तर मलेसिया कहिले खुल्ने केही टुंगो छैन।

) विकास आयोजनाका हविगत

दसैंमा राजधानीवासीले मेलम्चीको  पानी खान पाउँछन् भनेको दुई वर्ष भयो। दशैंमा नपाए पनि चैतवैशाखमा त पानी आउँछ कि भन्ने धेरैको आश थियो। अहिले त त्यो पनि अन्यौलमा परेको छ। राष्ट्रिय गौरवको मेलम्ची आयोजनाको अन्तर्राष्ट्रिय ठेकेदार काम अलपत्र छोडेर भागिसक्यो। इटालीन ठेकेदार किन भाग्यो?  खानेपानी सचिवले संसदीय समितिमा भने- ठेकेदारलाई काम सक्दा फाइदा र भाग्दा घाटा नै हुन्छ।

तपाईं आफैले राष्ट्रिय सभा गृहबाट भन्नुभयो– मेलम्चीको पानीले सडक पखाल्ने हो। तर बिडम्बडा मेलम्चीको पानी आउने मिति नै अनिश्चित बन्यो, किन? जवाफ सरकारसँग छैन।

अर्को राष्ट्रिय गौरवको आयोजना तामाकोसी जलविद्युत परियोजनाबाट गत असारमै बिजुली आउँछ भनिएको थियो। भाका सरेको सात महिना बित्यो। स्वदेशी लगानीमा बन्न लागेको तामाकोसीको बिजुली कहिले बाल्न पाइने हो टुंगो छैन।  निर्माण किन सुस्त छ? सरकारलाई थाहा छैन। वा थाहा भएर पनि भन्दैन वा थाहा भएर पनि समाधान निकाल्न सक्दैन।

विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङले केही दिनअघि भने- प्रशारण लाइन राख्न सक्ने अवस्था छैन। नांगो डाँडामा तार राख्दा पनि बनले अवरोध गर्छ। के आकाशमा टावर बनाउने? 

निजगढ विमानस्थल क्षेत्रमा मुआब्जा ठूलो समस्या नै हैन। किनभने अधिकाशं वन क्षेत्र त्यहाँ प्रयोग हुदैँछ। सरकार अनि प्रगति विवरण देखाउँछ मुआब्जा वितरण अगाडि बढ्यो। जबकी त्यहाँको एक हजार भन्दा धैरै घरधुरी भएको टाँगिया वस्ती स्थानान्तरण सबैभन्दा ठूलो काम हो। उनीहरुका लागि घर बनाउनुपर्ला। जग्गा दिनुपर्ला। यतापट्टी कुनै प्रगति छैन।

) कूटनीति र अन्तराष्ट्रिय सम्बन्ध

विवादस्पद धार्मिक संस्था ‘युनिफिकेशन चर्च’ आयोजक भएर नेपालमा एसिया प्यासिफिक समिट भयो। त्यो समिटबारे प्रधानमन्त्रीकै पार्टीभित्र सबैभन्दा धेरै आलोचना भयो। प्रधानमन्त्रीले जवाफ दिने क्रममा आउँदा दिनमा विचार गर्ने भन्नुभयो।  आउँदा दिनमा ख्याल देखिएन बरू हतारमा लतरपतर भयो। त्यसको उदाहरण भेनेजुयला  प्रकरण हो।

सत्तारूढ दल भित्रै परराष्ट्र नीतिमा विवाद देखियो। तपाईं आफैं सहभागी नेकपाको सचिवालय बैठकले हाम्रो ठूलो र पुरानो विकास साझेदार अमेरिकालाई चिढ्याउने विज्ञप्ति निकाल्यो। हाम्रो परराष्ट्र नीति हामीसँगको सम्बन्धमा निर्भर हुनु पर्ने हो। संसारका कम्युनिष्टसँग भाइचारा देखाउन मनसायले हुनुपर्छ नेकपा अर्का अध्यक्ष पुष्पकमल दाहालले निकालेको विज्ञप्तिले सरकारप्रति शक्ति राष्ट्र अमेरिकालाई सशंकित बनायो।

छिमेकी भारतसँग तपाईंको सरकार बनेपछि सम्बन्ध पहिलाभन्दा सुधार भएको छ तर के त्यो हाम्रो हितमा छ वा हामीले त्यसबाट फाइदा लिन सक्यौं?

भारतले नेपालमा आएर थप हवाइ रुट दिने सहमति जनायो। तर लगत्तैको बैठकमा भारत पछि हट्यो। हवाई रूटलाई सफलता भनेर प्रधानमन्त्रीले संसदको रोष्टमबाट गर्वसाथ सुनाउनुभयो। बिडम्बडा त्यही कुरा तपाईंले सरकारका वर्ष दिन उपलब्धीको सम्बोधनमा सुनाउन सक्नुभएन।

) भ्रष्टाचार नियन्त्रणमा कुरा ठूला

नेपाल वायु सेवा निगले खरिद गरेका दुई वाइड बडी जहाजमा अनियमितता भएको संसदको लेखा समितिले प्रतिवेदन दिएको छ।  

प्रधान सेनापति भैसकेका राजेन्द्र क्षेत्रीले भ्रष्टाचार गरेर समाचार आइरहेका छन्। उनको सम्पत्तिबारे प्रश्न उठेको छ। देशमा भएको अख्तियार छानबिन गर्ने संवैधानिक निकाय अख्तियार दुरूपयोग अनुसन्धान आयोगका  आयुक्तले नै घुसकाण्डमा मुछिएर राजीनामा दिएका छन्।

सरकारका उपसचिव भ्रष्टाचारमा सहयोग गर्न नसक्दा आफ्नो सरूवा भयो भने पत्रकार सम्मेलन गर्छन्। तर प्रधानमन्त्री सम्बोधनमा भन्नुहुन्छ- मुखमा पानी हालेर बसको छैन। म भ्रष्टाचारीको मुख पनि हेर्दिनँ।  

मुखमा पानी नहालेको भए भ्रष्टाचार गरेको अभियोगमा सरकारले कति कर्मचारीलाई कारबाही गर्‍यो। नेपाल दुरसञ्चार प्राधिकरणमा विवादास्पद र भ्रष्ट छवि भएका दिगम्बर झालाई हटाइयो। अनि फेरि ल्याइयो। अनि पार्टीमा विरोध भएपछि राजीनामा गर्न लगाइयो। के दिगम्बर झालाई नियुक्तीका गर्दा पानी मुखमा भएकै कारण प्रधानमन्त्रीले मौनता साँध्नुभएको थियो?

) संघीयता र लोकतन्त्रको बुझाइ कस्तो?

तपाईंले सिंहदरबारबाट गरेको सम्बोधनमा भन्नुभएको छ- हाम्रा चुनौती के/के हुन् मात्र होइन को/को हुन् भन्ने पनि हामीलाई राम्रैसँग थाहा छ। कतिलाई यही स्थायित्व अभिशाप बनेको हुनसक्छ।

प्रधानमन्त्रीज्यू, स्थायीत्व अभिशाप कसलाई बन्यो आफैं व्याख्या गर्नुहोस्। तर तपाईं कस्तो जगमा उभिएर स्थायीत्वको कुरा गर्नुहुन्छ भन्ने प्रश्न जनताले गरिरहेका छन्। काठमाडौँमा घर भएर पनि मासिक घरभाडा बुझ्ने सांसदबारे समाचार सार्वजनिक हुँदा तपाईंले संसदको रोष्ट्रमबाट भन्नुभयो- लोकतन्त्र माथिको आक्रमण भयो। कस्ता सांसदको नेता भएर तपाईंले स्थायित्वको परिकल्पना गर्नु भएको हो? कैंयौले बलिदानी दिएर ल्याएको लोकतन्त्रप्रति तपाईंको बुझाइ यही नै  हो त?

तपाईंले अन्तरप्रदेश परिषद् बैठक डाकेपछि पोखरामा मुख्यमन्त्रीहरूले भेला गरे। आफ्ना साझा धारणा बनाए। तपाईंले  त्यो भेला संघीयता कार्यान्वयनका लागि सहजता भनेर बुझ्नुभएन बरू आफूविरूद्धको गठबन्धन ठान्नुभयो। आफ्नो रिस छताछुल्ल हुनेगरी पोख्नुभयो- आफैंले डाकेको बैठक बिना कारण स्थगित मात्र गर्नुभएन मुख्यमन्त्रीसँग भेट्नु नै भएन।

ठीक नभएको भन्दै  तपाईंकै पार्टीका मुख्यमन्त्री र सांसदहरूले  बारम्बार प्रश्न उठाएका छन्।  तर सरकारले संसदमा संघीयताको मूल मर्मविपरित विधेयक पठाएको पठायै  छ।  प्रहरीसम्बन्धी कानूनहरु हेर्ने हो भने प्रदेशको अस्तित्व नै संकटमा पर्ने देखिन्छ। शक्तिशाली सिडिओमा राख्ने अनि विकासको जिम्मा मात्र प्रदेश र स्थानीय तहलाई दिने हो भने त्यसको चाप भविष्यमा विकास कार्यमै पर्नेछ।   

) पुनर्निर्माणमा प्रगति?

भूकम्पपछिको पुनर्निर्माण सरकारको प्राथमिकताको विषय थियो। जनताले आफ्नो घर बनाइरहेकै छन्। तीन वर्ष असार साउनको भेलसँग जुधेर, खाइनखाई पैसा जम्मा गरेर, ऋण काढेरै जेनतेन जनताले घर बनाइरहेका छन्। जनताले हिउँदको बेला घर बनाउनुलाई सरकारको सफलता मान्न सकिन्न। सरकारको कामको लेखाजोखा राष्ट्रपतिले शिलन्यास गर्दा पनि नबनेको रानीपोखरीबाट गर्नु पर्ने हुन्छ। प्रधानमन्त्रीको आफ्नै कार्यालय अझै प्लास्टिकले छोपेर राखिएकोबाट देखिन्छ। राजधानीको बसन्तपुर दरबार स्क्वायरमा ढलेका मन्दिर उठेका छैनन्। सरकारले काम गरेको भए देखिने थियो। आँखा चिम्लिएर सरकारको काम सुन्ने भएमात्र सफलता देखिन्छ।

) मन्त्रीको बुझाइ कस्तो?

गृहमन्त्री रामबहादुर थापाले संसदको समितिमा पुँजीवादका कारण बलात्कार बढ्यो भनेर व्याख्या गर्नुभयो। कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्या प्रकरणमा प्रहरीले नै प्रमाण नष्ट गरेको गृह मन्त्रीले स्वीकार्नुभयो। सात महिना बित्यो निर्मलाको हत्या भएको तर अहिलेसम्म हत्यारा पत्ता लाग्न सकेका छैनन्।   

सुन काण्डमा प्रहरीलाई बाइपास गरेर मन्त्रालय स्तरमा छानविन समिति बनाइयो। तर सुन काण्डका मुख्य दोषी पत्ता लागेनन्।

) कस्तो हतारो?

पछिल्लो समय सरकारलाई काम देखाउने हतारो छ। सामाजिक सुरक्षा कार्यक्रम घोषणा भए पनि अहिलेसम्म कार्यान्वयनमा आउन सकेको छैन। अझै केही महिना आउने पनि छैन किनकी त्यसका लागि बनाउनु पर्ने प्राविधिक संरचना बनेकै छैनन्।  

कर्मचारी संचयकोषले कार्यान्वयन गर्न संरचना र कर्मचारी आफूसँग रहेको बताएको थियो। तर सरकारले नयाँ संरचना बनाउने बाटो रोज्यो। फलत: व्यापक चर्चा र प्रचार भएको कार्यक्रम तत्काल कार्यान्वयन जान सकेन।

सरकारले नेपाल पानीजहाज कार्यालय खोलेको छ, त्यो पनि सरकार गठन भएको एक वर्ष पुगेकै दिन। विभाग स्तरको त्यो कार्यालयको उद्घाटन गर्न मन्त्रीहरूको लावालस्कर लिएर प्रधानमन्त्री जानुभयो। कार्यालय त खोल्नुभयो तर कार्यालय प्रमुखबिनाको।

भूकम्पले भत्काएको  धरहराको शिलान्यास गर्न प्रधानमन्त्री आफैं दुई पटक पुग्नुभयो।

यसअघिको सरकारले ल्याएको ‘मेरो धरहरा मै बनाउँछु’ भन्ने कार्यक्रमका लागि टेलिकमले प्रत्येक रिचार्ज कार्डबाट नागरिकसँग पैसा लियोतर धरहरा बनाउने जिम्मा अहिले प्राइभेट कम्पनीलाई दिइयो। त्यो पनि सम्पदा भन्दा बढ्ता व्यापारिक कम्पलेक्स बनाउने उद्देश्यले। प्रधानमन्त्रीको तर्क थियो-पहिलो वर्ष हाम्रा लागि आधार वर्ष थियो। हामीले कानुन बनायौं त्योसँगै संरचना पनि।

प्रधानमन्त्रीले भनेजस्तै सरकारले एक वर्ष पूरा गर्दा धेरै कानुन बनायो प्रशासनिक संरचना पनि तयार गर्‍यो। तर नागरिकका दैनिक जीवनका कष्ट हटाउन यी कुराले त्यति ठूलो असर पार्दैनन् जति स-साना कुराले तानका तान फरक पार्छ।

जनताले पाउने सेवा प्रवाह र दिनदिनै भोगिरहेका दु:ख घटाउन ओली सरकारले वर्ष दिनमा के-के काम गर्‍यो? प्रधानमन्त्रीज्यू यो प्रश्न तपाईं पनि आफ्नो छातीमा हात राखेर सोध्नुहोला। किनकी जनताको तपाईंप्रति अपेक्षा निकै ठूलो छ।

प्रतिकृया दिनुहोस

म २९ वर्षअघि ट्राफिक हुँदा ड्रममा उभिएर हात हल्लाउँथें, अहिले पनि त्यस्तै छ

हाम्रो ट्राफिक व्यवस्थापन ‘ढुंगेयुग’ मा छ। धेरै समय भयो, काठमाडौं उपत्यकामा सवारी जाम नियन्त्रण र ट्राफिक सहायताका लागि राखिएका ट्राफिक

सहरसँग मनका कुरा!

'मलाई तिम्रो सहरको धूलोसँग पनि प्रेम छ।’ यो सहरका सडक र गल्लीहरूमा म कैयौं पटक यस्तै बड्बडाउँदै एक्लै हिँडेकी छु। सहरसँग प्रेममा पर्नु चानचुने

आकस्मिक गीतले तातेका सुखसमृद्धिका कानहरु !

नेपालका कतिपय राजनेताहरुले भनेको सुनिएको छ, राजनीति गर्नेहरुका लागि साहित्यको केहीे काम छैन । गीतसङ्गीतको काम छैन । कुनै उपयोगिता नै छैन ? यसतर्पm