रुकुम पूर्वमा साहित्यिक जागरणको सन्देश फैलाउँदै चौथो महफिल, कार्तिक २८ मा स्रष्टाहरू जुट्ने
रुकुम पूर्व। सिर्जना, विचार र संस्कृतिको आदानप्रदान गर्ने उद्देश्यले रुकुम पूर्वमा चौथो साहित्यिक महफिल–२०८३ आयोजना हुने भएको छ। जिल्लाको साहित्यिक गतिविधिलाई थप सक्रिय बनाउँदै स्थानीय प्रतिभालाई पहिचान र प्रोत्साहन गर्ने लक्ष्यसहित कार्यक्रम आयोजना गर्न लागिएको हो।राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम पूर्वको आयोजनामा कार्तिक २८ गते सिस्ने गाउँपालिका–६ स्थित छिप्रीदहको विन्ध्यवासिनी भगवती मन्दिर परिसरमा कार्यक्रम हुनेछ। बिहान ११ बजेदेखि सुरु हुने महफिलमा विभिन्न जिल्लाका स्थापित साहित्यकार, गजलकार, कवि तथा स्थानीय कलाकारहरूको सहभागिता रहनेछ।
कार्यक्रममा गजल, कविता, गीत, सङ्गीत, गायन र नृत्यलगायतका प्रस्तुति रहने आयोजकले जनाएको छ। गजल विधामा कैलालीका दीर्घराज प्रियसी, सुर्खेतका धिरेन अनुपम र अछामका कृष्ण विरहीले आफ्ना सिर्जना सुनाउनेछन्। कविता विधामा रुकुम पश्चिमकी समष्टि बुढा मगर तथा रुकुम पूर्वका भुवनेश्वर उपाध्याय र मोहनबहादुर केसी सहभागी हुनेछन्।
त्यस्तै तिलक रोकालगायत स्थानीय कलाकारले सांस्कृतिक तथा सांगीतिक प्रस्तुति दिने कार्यक्रम तय गरिएको छ।
राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम पूर्वकी अध्यक्ष जमुना गौतम पुनले जिल्लामा साहित्यिक संस्कारको विकास र सिर्जनशील पुस्ता निर्माणका लागि यस्ता कार्यक्रम आवश्यक रहेको बताउनुभयो।उहाँले साहित्यिक महफिलले स्थानीय स्रष्टालाई आफ्ना सिर्जना प्रस्तुत गर्ने अवसर दिनुका साथै बाहिरी जिल्लाका स्थापित साहित्यकारसँग प्रत्यक्ष भेटघाट र अनुभव आदानप्रदान गर्ने वातावरण बनाउने बताउनुभयो।
“हामीले स्थानीय प्रतिभालाई खोज्नुपर्छ, उनीहरूका सिर्जनालाई सम्मान गर्नुपर्छ। साहित्यिक गतिविधि निरन्तर भए मात्रै नयाँ पुस्तामा सिर्जनाप्रतिको रुचि र जिम्मेवारी विकास हुन्छ,” उहाँले भन्नुभयो।अध्यक्ष पुनले साहित्यिक गतिविधिलाई निरन्तरता दिन आर्थिक तथा व्यवस्थापकीय चुनौती रहे पनि सामूहिक प्रयासबाट अभियान अघि बढिरहेको बताउनुभयो। उहाँले जिल्लाको भाषा, साहित्य, कला र संस्कृतिको संरक्षणमा स्थानीय तह, सरकारी निकाय र नागरिक समाजले सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो।
महफिलले स्थानीय मौलिक संस्कृति र परम्पराको संरक्षणसँगै नयाँ स्रष्टालाई सिर्जनाको यात्रामा अघि बढ्न प्रेरित गर्ने अपेक्षा गरिएको छ। साथै राष्ट्रिय तथा स्थानीय स्रष्टाबीचको अन्तरक्रियाले जिल्लाको साहित्यिक क्षेत्रलाई थप गतिशील बनाउने विश्वास आयोजकले लिएको छ।
आयोजकले साहित्यप्रेमी, स्रष्टा, कलाकार, जनप्रतिनिधि, बुद्धिजीवी तथा सम्पूर्ण जिल्लावासीलाई कार्यक्रममा उपस्थित भई साहित्यिक अभियानमा साथ दिन आग्रह गरेको छ।
कार्यक्रमको मिडिया पार्टनर रेडियो पूर्वी रुकुम रहेको छ।
‘भाषा, साहित्य, कला र संस्कृति १ जीवन र जगतको समृद्धि ११’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको चौथो साहित्यिक महफिलले रुकुम पूर्वको मौलिक पहिचान र सिर्जनात्मक सम्भावनालाई थप उजागर गर्ने अपेक्षा गरिएको छ।
महिला, बालबालिका र सीमान्तकृत समुदायका समस्या प्राथमिकतामा राख्न मन्त्री सिता बादीको निर्देशन
महिला, बालबालिका, ज्येष्ठ नागरिक, दलित तथा सीमान्तकृत समुदायका समस्या प्राथमिकताका साथ सम्बोधन गर्न महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र
महिला तथा सामाजिक सुरक्षा मन्त्री सिता वादी भोलि सल्यान आउँदै
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता वादी भोली १८ गते सल्यान आउनुहुने भएको छ ।मन्त्री वादीले बिहान ११ बजे
सल्यानमा पहिलोपटक केसर खेती, प्रतिग्राम एक हजार रुपैयाँमा बिक्री
सल्यानमा पहिलोपटक केसर खेती सुरु गरिएको छ। कुमाख गाउँपालिका– ३, चिनालीका किसान शेरबहादुर पुनले केसर खेती सुरु गरेका हुन्। परम्परागत खेतीबाट
प्रतिकृया दिनुहोस