”दसैँको रौनक र गाउँका नलेखिएका दुःख”
प्रतीक इच्छुक शर्मा
दसैँको रौनक छ। गाउँमा छु। खुसीको सीमा छैन। रहरले, बाध्यताले र आवश्यकताले गाउँ छोडेका आफन्तहरू आँगनमा भेला भएका छन्। घरआँगनमा चहलपहल बढेको छ। लामो समयपछि भेटिएका आफन्तसँग खुसी साटासाट भइरहेको छ। तर, यो जमघट स्थायी होइन। दसैँ सकिएपछि फेरि गाउँ रित्तिनेछ। कोही रोजगारीका लागि सहर फर्किनेछन्, कोही विदेश जानेछन्। गाउँमा बाँकी रहनेछन् बूढापाका, बालबालिका र उही पुराना समस्या।
गाउँको परिवेश फेरिएको छ, तर गाउँका दुःख फेरिएका छैनन्।
सडक सञ्जालको विस्तारसँगै सल्यान सदरमुकाम खलङ्गाबाट दार्मा गाउँपालिकासम्मको यात्रा पहिलेभन्दा सहज र छोटो भएको छ। गाउँका पाखापखेरामा डोजर चलेका छन्। सडकका रेखा कोरिएका छन्। सूचना प्रविधिको पहुँच पनि विस्तार हुँदै छ। तर सडक पुगेपछि यात्रा सुरक्षित भएको छैन। वर्षायाममा सडक भत्किने, पहिरो जाने र खोलानालामा जोखिम बढ्ने समस्या दोहोरिन्छ। सडक निर्माणसँगै वातावरणीय प्रभाव र विपद् जोखिम न्यूनीकरणमा पर्याप्त ध्यान नदिँदा विकासका संरचनाले नै नयाँ चुनौती थप्ने अवस्था छ।
सडक गाउँसम्म पुग्नु उपलब्धि हो, तर त्यसको गुणस्तर र सुरक्षित आवागमन सुनिश्चित हुनु उत्तिकै महत्त्वपूर्ण छ। सडक निर्माणको मापन त्यसको लम्बाइले मात्र होइन, नागरिकले वर्षभरि सुरक्षित रूपमा प्रयोग गर्न पाए कि पाएनन् भन्ने आधारमा हुनुपर्छ।
आधारभूत सेवामा अझै चुनौती
गाउँमा साँझ पर्दै जाँदा कतिपय ठाउँमा मोबाइलको नेटवर्क हराउँछ। इन्टरनेट पुगे पनि फोन सेवा भरपर्दो छैन। आवश्यक पर्दा सम्पर्क गर्न नसक्नु र आपत्कालीन अवस्थामा सहयोग माग्न कठिन हुनु ग्रामीण जीवनका व्यावहारिक समस्या हुन्। प्रविधि विस्तारको उपलब्धि नागरिकले सहज रूपमा उपयोग गर्न पाएपछि मात्र सार्थक हुन्छ।
स्वास्थ्य सेवाको अवस्था पनि चिन्ताजनक छ। सल्यानका विभिन्न क्षेत्रमा स्क्रब टाइफसको संक्रमण देखिँदा सामान्य ज्वरो आए पनि भरपर्दो उपचार पाइन्छ कि पाइँदैन भन्ने चिन्ता ग्रामीण नागरिकमा छ। ‘ज्वरो आयो कि सहर जानुपर्छ’ भन्ने बाध्यताले गाउँको स्वास्थ्य सेवाको पहुँच र गुणस्तरमाथि प्रश्न उठाउँछ। समयमै परीक्षण, औषधि, दक्ष स्वास्थ्यकर्मी र आवश्यक उपचारको व्यवस्था गाउँमै हुन सके नागरिकले सामान्य रोगको उपचारका लागि समेत लामो यात्रा गर्नुपर्ने थिएन।
विद्युतीकरणमा पनि सबै बस्ती समेटिएका छैनन्। कतिपय ठाउँमा पोल गाडिएका छन्, तर तार तानिएको छैन। कतै तार पुगे पनि नियमित विद्युत् सेवा उपलब्ध छैन। घरघरमा बिजुली पुर्याउने लक्ष्य संरचना निर्माणमा मात्र सीमित हुनु हुँदैन। नागरिकले नियमित र भरपर्दो विद्युत् सेवा पाउनु नै विद्युतीकरणको वास्तविक उपलब्धि हो।
वैदेशिक रोजगारी र गाउँको भविष्य
गाउँका दुःख भौतिक पूर्वाधार र सेवाको अभावमा मात्र सीमित छैनन्। वैदेशिक रोजगारीले ग्रामीण परिवारको आर्थिक तथा सामाजिक जीवनमा गहिरो प्रभाव पारेको छ। विदेशबाट प्राप्त आम्दानीले घर बनेका छन्, बालबालिकाको शिक्षामा लगानी बढेको छ र परिवारको जीवनस्तरमा सुधार आएको छ। तर परिवारबाट लामो समय टाढिनुपर्ने बाध्यता, बालबालिकाको हेरचाहमा पर्ने असर र स्वदेश फर्किएपछि रोजगारीको अनिश्चितता पनि उत्तिकै गम्भीर छन्।
युवा गाउँ छोड्न चाहन्छन् कि गाउँमै भविष्य देख्ने आधार नपाएर बाहिरिन बाध्य छन्? यो प्रश्नको उत्तर खोज्नु आवश्यक छ। कृषि, पशुपालन, पर्यटन र स्थानीय स्रोतसाधनमा आधारित उद्यमलाई व्यावसायिक बनाउन सके गाउँमै रोजगारीका अवसर सिर्जना गर्न सकिन्छ। विदेशमा सिकेको सीप र अनुभवलाई स्थानीय उत्पादन, व्यवसाय र विकाससँग जोड्न सकिन्छ। त्यसका लागि उत्पादनको बजारीकरण, सहुलियतपूर्ण वित्तीय पहुँच, प्राविधिक सहयोग र उद्यममैत्री वातावरण आवश्यक हुन्छ।
दसैँमा गाउँ फर्किने युवाको भीडलाई गाउँमै भविष्य देख्ने पुस्तामा बदल्न गाउँमा बस्ने आधार तयार गर्नुपर्छ। गाउँप्रतिको माया मात्र पर्याप्त हुँदैन; त्यहाँ शिक्षा, स्वास्थ्य, रोजगारी र सम्मानजनक जीवनयापनको अवसर पनि हुनुपर्छ।
प्रविधिसँगै नागरिक चेतना
गाउँमा प्रविधिको पहुँच विस्तारसँगै नागरिकको सोच र व्यवहारमा पनि परिवर्तन आउँदै छ। सामाजिक सञ्जालले सूचना आदानप्रदान, सार्वजनिक बहस र नागरिकका समस्या उजागर गर्ने अवसर दिएको छ। स्थानीय सरकार र जनप्रतिनिधिका काममाथि प्रश्न उठाउने, सार्वजनिक स्रोतको उपयोगबारे जानकारी माग्ने र सेवाप्रवाहमा सुधारको अपेक्षा गर्ने चेतना बढ्दै गएको छ।
लोकतन्त्रमा नागरिक केवल सेवा प्राप्त गर्ने व्यक्ति होइनन्, सार्वजनिक निर्णय र विकास प्रक्रियाका सक्रिय सहभागी पनि हुन्। नागरिकको प्रश्न र निगरानीले सार्वजनिक निकायलाई जिम्मेवार बनाउन सहयोग पुर्याउँछ। तर नागरिकले पनि तथ्यका आधारमा प्रश्न गर्ने, गलत सूचना पहिचान गर्ने र आफ्नो अधिकारसँगै कर्तव्यप्रति सचेत रहने अभ्यास गर्नुपर्छ।
त्यसैगरी, सार्वजनिक निकायले नागरिकका प्रश्नलाई आलोचनाका रूपमा मात्र नलिई सुधारको अवसरका रूपमा लिनुपर्छ। नागरिकका गुनासा सुन्ने, निर्णयको आधार स्पष्ट गर्ने र गरेका प्रतिबद्धता कार्यान्वयन गर्ने संस्कारले मात्र सुशासन बलियो हुन्छ।
विकासको मापन नागरिकको जीवनमा
गाउँको विकासलाई सडक, बिजुली, इन्टरनेट र भौतिक संरचनाको विस्तारमा मात्र सीमित गरेर हेर्न मिल्दैन। विकासको वास्तविक अर्थ नागरिकले आफ्नो दैनिक जीवनमा गर्ने अनुभूति हो। सडक पुगेपछि यात्रा सुरक्षित भयो कि भएन? इन्टरनेट विस्तारपछि सञ्चार सहज भयो कि भएन? घरमा बिजुली बल्यो कि बलेन? बिरामी हुँदा समयमै उपचार पाइयो कि पाइएन? विदेशबाट फर्किएको युवाले गाउँमै रोजगारी पायो कि पाएन? नागरिकका प्रश्नको सम्बन्धित निकायले जवाफ दियो कि दिएन? विकासको मूल्याङ्कन यिनै आधारमा हुनुपर्छ।
गाउँमा विकासका रेखा कोरिएका छन्, तर ती रेखाले नागरिकको जीवनमा कति परिवर्तन ल्याए भन्ने समीक्षा आवश्यक छ। योजनाको संख्या, खर्च भएको बजेट र निर्माण भएका संरचनाभन्दा नागरिकले पाएको सुविधा र अवसर बढी महत्त्वपूर्ण हुन्छन्। विकासका योजना बनाउँदा स्थानीय आवश्यकता, भौगोलिक अवस्था, वातावरणीय प्रभाव र दीर्घकालीन उपयोगितालाई प्राथमिकता दिनुपर्छ।
दसैँले आफन्त भेटाउँछ, गाउँमा चहलपहल फर्काउँछ र सामाजिक सम्बन्धलाई नवीकरण गर्छ। तर गाउँमै बस्ने आधार तयार गर्ने जिम्मेवारी राज्य, स्थानीय सरकार, समुदाय र नागरिक सबैको हो। गाउँलाई माया गर्ने भाषणभन्दा गाउँमै गुणस्तरीय शिक्षा, सहज स्वास्थ्य सेवा, सुरक्षित सडक, भरपर्दो सञ्चार, नियमित विद्युत् र सम्मानजनक रोजगारीको व्यवस्था आवश्यक छ।
गाउँ बदलिँदै छ। अब परिवर्तनलाई उत्पादन, रोजगारी, शिक्षा, स्वास्थ्य र सुशासनसँग जोड्नुपर्छ। सडकले गाउँलाई अवसरसँग जोड्नुपर्छ, प्रविधिले नागरिकलाई सूचनासँग जोड्नुपर्छ र लोकतान्त्रिक चेतनाले नागरिकलाई निर्णय प्रक्रियामा सहभागी गराउनुपर्छ।
दसैँ सकिएपछि गाउँ फेरि रित्तिनु नियति बन्नु हुँदैन। गाउँमा फर्किएका आफन्तले केही दिनको खुसीपछि फेरि बाध्यताले गाउँ छोड्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्छ। गाउँमै बस्न, काम गर्न र भविष्य निर्माण गर्न सकिने वातावरण बनाउनु नै ग्रामीण विकासको सार्थक उद्देश्य हो।
गाउँमा दसैँको रौनक छ। तर रौनकले यथार्थ छोप्न सक्दैन। दसैँको खुसीलाई गाउँको स्थायी सम्भावनामा बदल्न सके मात्र गाउँका नलेखिएका दुःख सम्बोधन हुन सक्छन्।
सरकारी तथा सार्वजनिक निकायका वेबसाइट र अनलाइन सेवा अझै बन्द
अस्ति बिहीबारदेखि बन्द भएका सरकारी तथा सार्वजनिक निकायका वेबसाइट र अनलाइन सेवाहरू अझै खुलेका छैनन् । विश्वभर वेबसाइट बनाउन प्रयोग हुने ‘पीएचपी’
विदेशबाट फर्किएर व्यावसायिक कृषिमा खड्का
टेकवहादुर केसी ,समाचारदाता १८ वर्ष विदेशमा मजदुरी गरेर फर्किनुभएका दार्मा गाउँपालिका–५ बछेला सल्यानका प्रेमबहादुर खड्का अहिले व्यावसायिक
One hundred kilometers of road to be blacktopped in five years
Rural roads connecting the district’s municipalities and wards are being blacktopped at a rapid pace. The district-based Infrastructure Development Office, the Dang Road Division, and the Urban Development Program have begun blacktopping rural roads in earnest. Over the past five years, 68 kilometers of road have been blacktopped by the Infrastructure Development Office, 22 kilometers
प्रतिकृया दिनुहोस