• बुधबार ४-१३-२०८३/Wednesday 07-29-2026

सल्यानमा दोस्रो प्रादेशिक कृषि, वन, पशु, पर्यटन, उद्योग, व्यापार तथा सांस्कृतिक महोत्सव भव्य रूपमा सुरु

सल्यानमा दोस्रो प्रादेशिक कृषि, वन, पशु, पर्यटन, उद्योग, व्यापार तथा सांस्कृतिक महोत्सव भव्य रूपमा सुरु भएको छ । उद्योग वाणिज्य संघ सल्यानको आयोजनामा सञ्चालन भएको महोत्सवको औपचारिक उद्घाटन कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले गर्नुभएको हो।
उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै प्रदेश प्रमुख जोशीले कर्णाली प्रदेश सम्भावनाले भरिपूर्ण हुँदाहुँदै पनि सधैं गरिब भनेर चिनाउने प्रवृत्ति गलत भएको बताउनुभयो। उहाँका अनुसार कर्णाली प्रदेश कृषि, पशुपालन, जडीबुटी तथा पर्यटनको दृष्टिले अत्यन्तै धनी प्रदेश हो। “यहाँ अदुवा, स्याउ, सुन्तला, तरकारी, रैथाने बालीदेखि बहुमूल्य जडीबुटीसम्म उत्पादन हुन्छ। नेपाली भाषाको जननी पनि यही प्रदेश हो,” उहाँले भन्नुभयो।
प्रदेश प्रमुख जोशीले कर्णालीमा उत्पादन हुने कृषिजन्य वस्तुको उचित बजारीकरण नहुनु ठूलो समस्या भएको उल्लेख गर्नुभयो। विशेषगरी कोल्ड स्टोरको अभावका कारण किसानले उत्पादनको उचित मूल्य पाउन नसकेको भन्दै यसतर्फ प्रदेश सरकारले गम्भीर ध्यान दिनुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले कर्णालीलाई अब ‘गरिब प्रदेश’ भनेर होइन, सम्भावनायुक्त र समृद्ध प्रदेशका रूपमा चिनाउन आग्रह गर्नुभयो।
कार्यक्रममा बोल्दै पूर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले सल्यान जिल्ला खाद्यान्न, फलफूल, तरकारी तथा जडीबुटी उत्पादनका हिसाबले कर्णाली प्रदेशकै अग्रस्थानमा रहेको बताउनुभयो। उहाँले सल्यान हरेक क्षेत्रको उत्पादनमा अपार सम्भावना बोकेको जिल्ला भएकाले यहाँको उत्पादनलाई व्यावसायिक रूपमा अघि बढाउनुपर्ने धारणा राख्नुभयो।
त्यसैगरी कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारीले सल्यान जिल्ला कृषि, वन तथा पशुपालन क्षेत्रमा अत्यन्तै राम्रो सम्भावना भएको जिल्ला भएको बताउनुभयो। किसानलाई उत्पादनमुखी कार्यक्रममा जोड्न आवश्यक रहेको उल्लेख गर्दै उहाँले हालसम्म किसानले उत्पादन गरेको वस्तु बिक्रीमा समस्या नभए पनि बजारको मागअनुसार उत्पादन पु¥याउन नसकिएको अवस्था रहेको बताउनुभयो। सरकारले उत्पादन वृद्धि गर्ने उद्देश्यले हरेक वर्ष विभिन्न कार्यक्रम ल्याइरहे पनि अधिकांश किसान अझै निर्वाहमुखी खेतीमै सीमित रहेको भन्दै सबै किसानलाई व्यावसायिक खेतीतर्फ आकर्षित गर्न सरोकारवाला सबै पक्षले आ–आफ्नो भूमिकाबाट पहल गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।
कर्णाली प्रदेशका सांसद तथा पूर्व कृषि मन्त्री भीमप्रकाश शर्माले पनि सल्यान जिल्ला कृषि तथा पशुपालन उत्पादनका हिसाबले कर्णाली प्रदेशकै अग्रस्थानमा रहेको बताउनुभयो। उत्पादन भएका वस्तुको बजारीकरणमा खासै समस्या नभएकाले अब उत्पादन बढाउन किसानलाई आवश्यक सहयोग, प्रविधि र लगानीको खाँचो रहेको उहाँको भनाइ थियो। किसानलाई उत्पादनमुखी बनाउँदै आर्थिक उपार्जनसँग जोड्नु र यसलाई दीगो बनाइराख्नु आजको मुख्य चुनौती भएको उहाँले उल्लेख गर्नुभयो।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघ कर्णाली प्रदेशका अध्यक्ष पदमबहादुर शाहीले उद्योग तथा व्यवसाय क्षेत्रमा देखिएका समस्याका कारण देशको आर्थिक अवस्था धरासायी बन्दै गएको बताउनुभयो। उहाँले उद्योग–व्यवसाय क्षेत्रका समस्यालाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने र निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीति आवश्यक रहेको धारणा राख्नुभयो।
महोत्सवमा कृषि, पशुपालन, जडीबुटी, पर्यटन, घरेलु तथा साना उद्योगका सामग्रीको प्रदर्शनीसँगै स्थानीय कला–संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले विविध सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिएको आयोजकले जनाएको छ। महोत्सवले स्थानीय उत्पादनको बजारीकरण, किसान र उद्यमीलाई प्रोत्साहन तथा सल्यान जिल्लाको समग्र आर्थिक विकासमा टेवा पु¥याउने अपेक्षा गरिएको छ।
 

प्रतिकृया दिनुहोस

दार्मामा पोषण मेला : स्थानीय परिकारबाट पोषण सन्देश

कुपोषण न्यूनीकरण, स्थानीय खाद्य परिकारको प्रवद्र्धन तथा सन्तुलित आहारप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले सल्यानको दार्मा गाउँपालिकामा

कुपिण्डे तालमा चलचित्र पर्यटन महोत्सव–२०८३ हुँदै

सल्यानको प्रसिद्ध पर्यटकीय स्थल कुपिण्डे तालमा ‘कुपिण्डे चलचित्र पर्यटन महोत्सव–२०८३’ वैशाख १२ गते (शनिबार) आयोजना हुने भएको छ । वनगाड कुपिण्डे

सल्यानको मूलपानी वनस्पति केन्द्र पर्यटकको आकर्षण बन्दै

  प्रदीप मगर सल्यानको कपुरकोट गाउँपालिका ३ मूलपानीमा अवस्थित वनस्पति अनुसन्धान केन्द्र  पर्यटकको लागि आकर्षणको केन्द्र बन्दै गएको छ